Category Archives: Uncategorized
पाँच तारा साकोसद्धारा ५६ जना सदस्यलाई पेन्सन बितरण
सदस्यहरुलाई बचत गर्ने वानीको विकास गराउदै पन्ध्र वर्ष नियमित रुपमा मासिक बचत गरेका सदस्यहरुलाई पाँच तारा साकोसले पेन्सन वितरणको शुभारम्भ गरेको छ ।
नियमित बचत खातामा पन्ध्र वर्ष मासिक रुपमा बचत गरेका ५६ जना सदस्यहरुले आफूले गरेको बचत रकमको आधारमा पेन्सन प्राप्त गरेका छन् । २०८१ माघ २५ गते संस्थाको सभाहलमा आयोजित एक कार्यक्रममा मापदण्ड पुगेका उक्त सदस्यहरुलाई पेन्सन वितरण गरिएको हो । संस्थाले त्रैमासिक रुपमा सदस्यहरुलाई पेन्सन उपलब्ध गराउने छ ।
पेन्सन शुभारम्भ कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष भोला नाथ पाठकले बचत नै सुरक्षित भविष्यको आधार रहेको बताउँदै सदस्यहरुलाई बचत गर्ने वानीको विकास गराउने उद्देश्यका साथ पेन्सन कार्यक्रमको अवधारणा ल्याइएको जानकारी दिनुभयो ।
कार्यक्रमको संचालन संस्थाका सचिव लोचन हरि प्रसाईंले गर्नुभएको थियो भने पेन्सन कार्यक्रममा आवद्धता बारे संस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले प्रस्तुती गर्नुभएको थियो ।
उक्त अवसरमा संस्थाका पेन्सन प्राप्त गर्ने जेष्ठ सदस्य मधुसुधन उपाध्यायबाट पेन्सन वितरणको सुरुवात गरिएको थियो ।
उक्त पेन्सनसँगै सदस्यहरुले दशैंको समयमा थप एक महिनाको पेन्सन बराबरको रकम, गणेशमान सिं अस्पतालमा एकपटक तोकिएको निःशुल्क स्वास्थ्य जाँच, शारिरिक अंगभंग भएमा तोकिएको सुविधा समेत प्राप्त गर्ने संस्थाका व्यवस्थापक राधा कडरियाले जानकारी दिनुभयो ।
बचत गर्नु राम्रो, पाँच तारा साकोसमा गर्नु झनै राम्रो भन्ने मूल नाराका साथ २०६४ चैत्र २० मा दर्ता भई २०६५ बैशाख १ बाट कारोबार सुचारु भएको संस्थामा हाल २ हजार एकसय सतहत्तर शेयर सदस्य रहेका छन् भने संस्थाको कूल सम्पत्ति एक अर्व पाँच लाख रहेको छ