Member’s Story

कथा सफलताको

लक्ष्मी हमाल सदस्य नं. ३११७ , (बैशाख १, २०८१)

building

नवलपरासी जिल्लाको नई गाउँमा २०४० साल असार १४ गते बुबा देवेन्द्र हमाल र आमा चन्द्रकला हमालको कोखबाट लक्ष्मी हमालको जन्म भएको हो । परिवारमा १ भाई र ३ दिदीबहिनी मध्ये पहिलो सन्तान हुनुहुन्छ उहाँ । सांसारिक जीवनबाट आध्यात्मिक जीवनमा प्रवेश गरेको लामो समय भएको उहाँले बताउनुभयो । १२ वर्षको हुँदा आफ्नो जन्मथलो छाडेको र काठमाडौंको पद्मकन्या माविबाट ३ कक्षादेखि प्लस टु सम्मको अध्ययन पूरा गरेको उहाँले बताउनुभयो । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । पढ्दै हुर्किने क्रममा जतिजनासँग हमालको सम्पर्क भयो, मानिसमा जुन व्यवहार हुनपर्ने हो त्यो कुराको अभाव देख्नुभयो । मानिसमा लालच, सहयोग र सद्भावको कमी, दृष्टिमा नकारात्मकता देख्दा आफुमा प्रश्न उठ्न थालेको उहाँले बताउनुभयो । मान्छे भनेको यस्तै हो कि यो भन्दा फरक हुन सकिन्छ भन्ने भाव आफुमा त्यो बेलादेखि नै आउन थालेको उहाँ बताउनुहुन्छ । २०५९ सालतिर नै अध्यात्मिकताप्रतिको झुकावले ब्रम्हकुमारीमा जोडिने मौका पाएपछि भने मानिसहरुमा कसरी सद्गुण आउने रहेछ भन्ने बुझ्न थालेको भन्दै उहाँ भन्नुहुन्छ – त्यसपछि मैले यो मार्गलाई रोजेँ । सांसारिक जीवनमा मानिस सुखी र खुसी हुन धेरै प्रयास गर्ने गरे पनि अन्ततः दीर्घकालसम्म पाउन नसकेको उहाँको अनुभव छ । सुख, धन र सम्पत्तिको पछि कुद्दाकुद्दै मानिसले आफूभित्रको स्वभाव, संस्कार र चरित्रलाई छाडेर अगाडि बढ्ने गरेको उहाँले बताउनुभयो । मानिसको स्वभावले नै दुःख दिने भएकाले धैर्यता, स्वच्छता, प्रेम र सहयोगको भावनामा कमी जस्ता तितो सत्य मानवमा रहेको उहाँको बुझाइ छ । मानिसलाई सुखी हुन धन होइन संस्कार चाहिन्छ, मानिसले धन र क्षणिक प्रतिष्ठाको पछि लाग्दा आफ्नो स्वभाव र संस्कारलाई नै छोड्ने गरेकाले कहिल्यै सुखी नहुने उहाँको धारणा छ । आध्यात्मिकताबाट सुक्ष्म गुण र स्वभावको विकास हुनुका साथै मानिस सक्रिय भएर सत्कर्म गर्दै अगाडि बढ्न प्रेरणा मिल्ने उहाँ बताउनुहुन्छ । आध्यात्मिकतालाई पनि अँगालेर जान सकेमात्र मानिस सुखी र खुसी हुन सक्ने उहाँको बुझाइ छ । ईश्वरको वरदानका कारण एकाध मात्रै ब्रम्हकुमार, ब्रम्हकुमारी बस्ने गरेको तर सबैलाई ब्रम्हकुमार ब्रम्हकुमारी बस भन्न नमिल्ने उहाँको भनाई छ । “सृष्टि रोक्ने हाम्रो उदेश्य होइन, भइरहेको सृष्टिलाई सुखी, व्यवस्थित, मुल्य र निष्ठाले सम्पन्न बनाउने हाम्रो लक्ष्य हो । यसका लागि एकदुई जनाले बलिदान दिनैपर्छ । जसले मनैदेखि त्यागलाई नदेखेर खुसी देख्छ उसले मात्र सांसारिक कुरालाई त्याग्न सक्छ ।” उहाँले भन्नुभयो “सबैले सक्दैनन् र गर्नुपनि पर्दैन ।” समाजका मानिसलाई आध्यात्मिकताको विषयमा बुझाउन सके यसलाई सहज रुपमा जित्न सक्ने आत्मविश्वास उहाँमा छ । दोष भन्दा पनि वास्तविकता बुझाउन सके समाजकोे दृष्टिकोणमा परिवर्तन ल्याउन सकिनेमा उहाँ दृढ हुनुहुन्छ । आध्यात्मिकता सबैेलाई मनपर्छ, राम्रो स्वभाव, संस्कार सबैलाई मनपर्छ । मुल्य निष्ठा सबैलाई मनपर्छ । तर त्यसलाई कसरी व्यवहारमा लागु गर्ने कुरा गाह्रो जस्तो देखिन्छ र उहाँ भन्नु हुन्छ “आध्यात्मिकताको बारेमा सबैलाई बुझाउन सक्दा व्यवहारमा लागु गर्न गाह«ो छैन । जो भेट्यो उसलाई नै आध्यात्मिकताबाट आफुले प्रभाव पार्ने गरेको उहाँले बताउनुभयो । आफूले जानेका कुरा धेरैलाई बताएको र आफ्नो प्रशिक्षणबाट सयौं मानिस प्रभावित भएको उहाँले सुनाउनुभयो । आध्यात्मिकतामा प्रवेश गर्नुपूर्व र गरेपछि पनि एकेडेमिक र अलौकिक पढाईलाई निरन्तरता दिँदै आएको उहाँ बताउनुहुन्छ । आफू अर्थशास्त्रको विद्यार्थी भएको र पढाईका कारण नै अर्थव्यवस्थाको बारेमा राम्रो ज्ञान छ, उहाँले भन्नुभयो “यदि म आध्यात्मिकतामा प्रवेश नगरेको भए राम्रैसँग अर्थलाई सम्मान गर्ने काम गर्थेँ होला । देशको मेरुदण्ड भनेकै अर्थ हो । अर्थ बिना केहि हुँदैन । अर्थ हाम्रो लागि अभिन्न अंग हो । अर्थ व्यवस्थाले साधु, सन्त, योगी, कसैलाई पनि नछोड्ने रहेछ । जन्मेपछि हरेकलाई अर्थ चाहिने रहेछ ।” जोगी, सन्यासी, ध्यानी, तपस्वी भएपनि खानु त प¥यो । अर्काले दिएको खानुभन्दा ध्यानी तपस्वीले पनि आफैं आर्जन गरेर खाँदा राम्रो हुन्छ । आफैंले आर्जन गर्नु भनेको दुई पैसा कमाउनु नै हो । पैसा कमाउनको लागि कर्म त गर्नैपर्छ । भलै हामी ब्रम्हकुमारी आध्यात्मिकतामा छौं तर आत्मनिर्भर हुनुपर्छ । आफुपनि अर्थ उपार्जनमा जोडिनुपर्छ र अरुलाई पनि जोडाउनुपर्नेमा उहाँको जोड छ । कामपा ३२, छाप्रो स्थित ब्रम्हकुमारी राजयोग नामक संस्था रहेको र त्यो संस्थामा आवद्धहरुलाई राम्रोसँग खान, बस्न, पढ्न र पढाउने व्यवस्था गर्न श्रोत चाहिने र त्यसको लागि पैसा आवश्यक भएकाले पाँच तारासँग जोडिएर काम गर्दै आएको उहाँले बताउनुभयो । संस्थाका अध्यक्ष भोला नाथ पाठक र व्यवस्थापक राधा कडरियाको भावनामा आध्यात्मिकता पाएको र काम गर्न सहज भएकाले पाँच तारामा जोडिएको उहाँले बताउनुभयो । सन्् २०१८ मा पाँच तारा जोडिएर र त्यसयता निरन्तर संस्थासँग नै ससानो कारोबार गर्दै आएको हमालको भनाई छ । आफुले व्यक्तिगत धन आर्जन नगर्ने र संस्थाको लागि मात्र गर्ने गरेको उहाँ बताउनुहुन्छ । “संस्थालाई अगाडि बढाउन मबाट जे हुनसक्छ त्यो मेहनत गर्ने र प्रत्यक्ष रुपमा पैसा नकमाए पनि मेरो मन तन र समय केहि गर्न उर्जाशील भएर लगाउँछु ।” उहाँले भन्नुभयो “हामीले धन आर्जन गर्न सीपको प्रयोग गर्नुपर्छ तर ज्ञानयुक्त भएर गर्नु अझ प्रभावकारी हुन्छ ।” सीपलाई सीपको रुपमा मात्र प्रयोग गर्दा परिणाम राम्रो आउँदैन । ज्ञानी भएर गरियो भने परिणाम राम्रो आउँछ । ब्रम्हकुमारी योग संस्थाको ठाउँठाउँमा सेवा केन्द्रहरु रहेको र त्यसलाई रेखदेख गर्न दिदीबहिनीहरुले काम गर्दै आउने क्रममा सहकारी संस्थामा जोडिएको उहाँको भनाई छ । सहकारीमा संस्थागत बचत गर्ने गरेको र सहकारीले धेरै राम्रो सहयोग गरेको उहाँले जानकारी दिनुभयो । आवश्यकता पर्दा पाँच ताराले मिलेसम्मको सहयोग गर्ने गरेको र ऋण समेत प्रदान गरेको उहाँले बताउनुभयो । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने हिसाबले संस्थाले हामीलाई धेरै सहयोग गर्न बाँकी छ । सहकारी समाजको लागि आवश्यक र नेपालमा राम्रोसँग फस्टाइराखेको व्यवसाय भएपनि सीप, कला र विवेकपूर्ण ढंगले सञ्चालन गर्न नसक्दा पछिल्लो समय समस्या आएको उहाँले बताउनुभयो । कतिपय सञ्चालकमा लोभ, लालच र बेइमानी आउँदा पनि समस्या परेको उहाँको बुझाई छ । कुनैपनि देशको आर्थिक विकासमा आर्थिक कारोबार गर्ने संस्था आवश्यक रहने उहाँको भनाई छ । सहकारीमा आवद्ध भएर सक्रियताकासाथ भूमिका खेल्न मनपर्ने र अरुहरुलाई पनि सहकारीमा आवद्ध हुन उत्प्रेरित गर्ने गरेको उहाँले जनाउनुभयो । सहकारीमा सदस्य भएर बचत गर्न, आवश्यकता पर्दा ऋण लान र समयमा चुक्ता गर्न उहाँको सुझाव छ । संस्थो सञ्चालन गर्नेले पनि शत्प्रयास गरेको र उहाँहरुलाई अप्ठ्यारो पार्न नहुने उहाँको बुझाई छ । एकाधले व्यवहार बिगार्दा संस्थालाई असर पर्ने र केहि गर्छु भन्नेलाई हतोत्साही हुने उहाँको भनाई छ । सञ्चालकहरुले समुदायको हितका लागि नै यो काम थालेकाले यसलाई प्रत्येक सदस्यले सहयोग गर्नु दायित्व भएको उहाँले जनाउनुभयो । संस्थाबाट पैसा लिनुपर्छ, पैसा दिनुपर्छ तर सबैमा इमानदारिता भने चाहिने उहाँको भनाई छ । बिना इमानदारिता काम काम मात्रै हुन्छ, परिणाम दिँदैन । ‘मानिनसको गुण, संस्कार र स्वाभावमा सुधार नआएसम्म कुनै पनि मानिस पर्फेक्ट वा सफल हुन्छ भन्ने सोच्नु अज्ञानता मात्र हुने उहाँको बुझाई छ । हाम्रो स्वभाव संस्कारमा परिवर्तन गर्नुपर्ने, मेहनती, इमानदार र अरुको भावना बुझेर काम गर्ने र समय परिस्थितिलाई वास्तविक रुपमा बुझ्ने मानवीय स्वभाव नभई कुनै पनि काममा सफल हुन नसकिने उहाँले प्रष्ट पार्नुभयो । “हरेकले आआफ्नो ठाउँबाट आफ्नो कर्मरुपी धर्मलाई पहिलो प्राथमिकता दिइ काम गरे पैसा कमाइहालिन्छ, उन्नति भइहाल्छ । चुप लागेर बसे केहि पनि फल्दैन । काम गरेपछि वृद्धि भएर जान्छ । त्यो गर्न पनि मानिसमा पहिला स्वभाव नै शुद्ध हुन आवश्यक छ,” उहाँ भन्नुहुन्छ “आध्यात्मिकतापूर्ण कर्मनिष्ठताको आवश्यकता सबैलाई पर्ने र सोही अनुसार काम गर्न सके सबै कुरा सहज हुने उहाँको बुझाई छ । मानिस ज्ञानी हुने भेनको ध्यान र योग गरेर गुफामा बस्ने नभई विवेकशील र बुद्धिमान हुनु पर्नेमा उहाँको जोड छ । पाँच ताराले जति गरेको छ, धेरै राम्रो गरेको भन्दै टिमवर्क र इमानदारिताकासाथ काम गर्न उहाँको सुझाव छ । धर्मको रेखालाई नछोडि हरेकले आफ्नो कर्म गरेर धेरै उन्नति भएर जाने र समुदायको विश्वास जित्ने उहाँ बताउनुहुन्छ । विश्वास जितेपछि त दुई गुणा, ४ गुणा बढ्दै जाने उहाँको भनाई छ । समुदायको विश्वास गुम्न नदिन वास्तविकता जे हो त्यहि बताए पुग्ने सुझाव उहाँको छ ।