वार्षिकोत्सव कार्यक्रम

पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान राईलाई

पुरानो सिनामंगल अवस्थित पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता पम्फा राईलाई पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७४ बाट सम्मानित गरेको छ । ४ दशकभन्दा बढि समयदेखि प्रत्यक्षपरोक्ष रुपमा सहकारी क्षेत्रमा आवद्ध रहेर सहकारीमार्फत मुलुकको समृद्धिमा टेवा पु¥याएको भन्दै राइलाई उक्त सम्मान प्रदान गरेको संस्थाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नगद १० हजार एकसय एकाउन्न र ताम्रपत्रले राईलाई सम्मानित गरेका थिए । प्रमुख अतिथि अधिकारीले सहकारीले मुलुकमा निकै राम्रो काम गरेको चर्चा गर्दै बचत परिचालन, रोजगारी सिर्जना र महिला सशक्तिकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । मुलुक समृद्धिको यात्रामा भएकाले सहकारीहरु पनि उत्पादन वृद्धि, रोजगारी सिर्जना, विकास निर्माण र उद्यमशीलता विकासमा लाग्न सो अवसरमा उनले सुझाए । सहकारी ऐन २०४८ परिमार्जनको लागि अर्थ समितिमा पेश भएको र आफू उक्त समितिको संयोजक संयोजक भएकाले सहकारीमैत्री ऐन ल्याउन पहल गरिरहेको उनले बताए । सरकार सहकारी र निजी क्षेत्र मिले र मुलुकको समृद्धि खोज्नुपर्ने बताउँदै अधिकारीले विगतमा केही सहकारीमा विकृति आएकाले आउने दिनहरुमा विकृति आउन नदिन अभियन्ताहरु सचेत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमा जनताले रुचाएको संस्था नै सहकारी भएको र सहकारीको साखलाई जोगाउँदै अझ धेरै राम्रो काम गर्न उनले सो अवसरमा सुझाव दिएका थिए । भारत, चीन, कोरिया, श्रीलंका, जापान लगायतका देशहरुले सहकारीमार्फत हासिल गरेको उपलब्धीको चर्चा गर्दै उनले नेपालमा पनि सहकारीले त्यस्तै काम गर्न सकुन् भन्ने शुभकामना उनले दिए ।
सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले जनताले रुचाएको व्यवसायिक पद्धति सहकारी भएको र अब बन्ने ऐन सहकारीमैत्री हुनुपर्नेमा जोड दिए । सहकारी ऐनको प्रस्तावनादेखि नै विवाद देखिएकाले अब बन्ने ऐनलाई कसरी सहकारीमैत्री बनाउन सकिन्छ भन्ने तर्फ सबैजना सचेत भएर लाग्नुपर्ने उनको जोड थियो ।
नेपालका सबै कानुनले सहकारीलाई बाँधेकाले सहकारीले शिक्षा, स्वास्थ्य, पर्यटन, उर्जा, उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न नसकेको सो अवसरमा उनले बताए । केही सहकारीले गरेको बदमासीका कारण सबै सहकारीलाई अंकुश लगाउने काम गलत भएको भन्दै राम्रा काम गर्ने संस्थालाई प्रोत्साहन गर्न सम्बन्धित निकायलाई उनले सुझाव दिए । विगतमा केही सहकारीले सदस्यको बचत हिनामिना गरेको स्मरण गर्दै उनले सहकारीको बचतलाई सुरक्षित गर्न सरकारले बचत सुरक्षण कोषको व्यवस्था गर्न जरुरी रहेको औंल्याए ।
राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रसाद बाँस्कोटाले सहकारी क्षेत्रमा पाँचताराले नयाँ संस्कारको विकास गरेको र त्यसलाई निरन्तरता दिइराख्न सुझाएका थिए । सहकारी इतिहासमा पाँचताराले महत्वपूर्ण भूमिका निर्वाह गरी सहकारीकर्मीहरुलाई निरन्तर क्रियाशील हुन प्रेरित गरेको उनको भनाई थियो । सहकारीमा केहि गरेको भए बचतऋण मार्फत नै भएको र विगार्ने काम पनि बचतऋणले नै गरेकाले त्यसतर्फ सचेत भएर काम गरे यसको जस बचत ऋण सहकारीहरुलाई नै जाने उनको तर्क थियो । सहकारी अभियन्तामा इमानदारिता भएन भने सहकारीमा समस्या आउने भएकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उनको भनाई थियो । सहकारी कुनै पार्टीको र व्यक्ति विशेषको नभइ सिंगो समाजको भएकाले सहकारीमा राजनीति घुसाउन नहुने उनले बताए ।
सहकारीबाट धेरै राष्ट्रहरुले आर्थिक समृद्धि हासिल गरेको उदाहरण भएकाले नेपालमा पनि सहकारीले समृद्धिका लागि काम गर्न सक्ने उनको धारणा थियो । सहकारीविज्ञ कैलाशभक्त प्रधानाङ्गले प्रस्तावित सहकारी ऐन यथास्थितिमा पास भए सहकारी सञ्चालन गर्न कठिन हुने बताए । प्रस्तावित ऐनका कतिपय बुँदाहरु समयसान्दर्भिक नभएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । त्यसैगरी कार्यक्रममा प्राडा विष्णुहरि नेपालले जनताद्वारा जनताकै लागि आर्थिक रुपान्तरण गर्न सहकारीको जन्म भएको उल्लेख गरे । सहकारीले उत्पादन, पर्यटन, यातायात, प्रविधि र सामाजिक रुपान्तरणका पाँचवटा मोडल बनाइ काम गरे मुलुक समृद्ध हुन समय नलाग्ने धारणा राखे ।
सहकारी अभियन्ता अमृता सुब्बाले पाँचताराले सहकारी क्षेत्रमा उत्साह थपेको बताईन् । महिलाको नेतृत्व विकास, सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण जस्ता क्षेत्रमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताईन् । पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०७४ बाट सम्मानित पम्फा राईले आफू सम्मानित हुने आशामा सहकारीमा लागेको नभई मुलुकको समृद्धिका लागि सानो योगदान पु¥याउन सकिन्छ कि भन्ने हेतुले यस क्षेत्रमा लागेको बताईन् । मुलुकको विकासमा सहकारी उपयुक्त माध्यम भएको र सबै मिलेर काम गर्न सके समृद्धि हासिल गर्न सकिने समेत उनले बताईन् । संस्थाले सोही अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट कर्मचारी र पाँचपटक सम्म रक्तदान गर्नेहरुलाई चाँदीको सिक्का, प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीमा विन्दु गौतम र भगवती थापा सम्मानित भएका छन् । कार्यक्रममा यस वर्षको क्यालेण्डर र पाँचतारा नवौ स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष भोलानाथ पाठकले सहकारी अभियानमा नयाँ आयाम थप्दै, समुदाय र सदस्यलाई केन्द्रविन्दुमा राखेर संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
करिब २,००० सदस्य, ५ करोड शेयरपूँजी, ३५ करोड बचत र ४४ करोड ऋण लगानी गरेको संस्था क्षेत्र नं २ को सहकारीतर्फको उत्कृष्ट करदाताको रुपमा पुरस्कृत समेत भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *